welcome can infotec

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले वर्षेनि आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेकको २२औं संस्करण सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे शुक्रबारदेखि भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । सुबिसु केबल नेट प्रालीले शीर्ष प्रायोजन तथा हुवावेले सह प्रायोजन गरेको यस संस्करण माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

क्यान महासंघका महासचिव विश्वराम बलामीले दिएको जानकारीअनुसार बिहिबार साझसम्म स्टल निर्माण कार्य पूर्ण रुपमा सकिएको छ । यस संस्करणको इन्फोटेकमा एक सय १२ कम्पनीका कुल एक सय ८८ स्टल रहेका छन् ।

यस संस्करणको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । उद्घाटन समारोह प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा विहान ११ बजे हुनेछ । वर्षेनि सञ्चालन हुदै आएको इन्फोटेकले सर्वसाधारणलाई प्रविधि प्रयोगमा अभ्यस्त गराउन प्रयत्न गरिरहेको सन्दर्भमा यस क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा क्यानले नेपाल सरकारको ध्यानकर्षण गराउने छ ।

 

समारोहमा नेपाल सरकारका मन्त्री, सचिव तथा उच्च पदस्थ कर्मचारी, कुटनीतिक नियोगका प्रतिनिधि, आइसिटी क्षेत्रका विज्ञ, क्यानका भूतपूर्व एवं वर्तमान पदाधिकारी, आइसिटी व्यावसायी एवं सञ्चारकर्मीहरुकाे उपस्थिति रहने छ । उद्घाटनलगत्तै प्रमुख अतिथि एर्व विशिष्ट अतिथिहरुले इन्फोटेक अवलोकन गर्ने कार्यक्रम छ ।